Wednesday 28 April 2010

कसरी ब्यूंझून्

कसरी ब्यूंझून् यी सम्मोहित-शिक्षित,
बाँचेका छन् जो
स्वप्नलोकमा, अतिवादमा ।

कर्तव्यमा रमेका-डटेका त,
बचेखुचेका छन् अब शिष्ट
सपनामा नभुल्ने सांच्चै शिक्षित ।

जो हो वास्तवमा अधम-राज
सबैको छ त्यसैमा अनुराग ।
यो अड्बा‍‌ङ्गो सपनी-नशामा
सुतेका छन् थलिएर थाङ्नामा ।

Saturday 24 April 2010

कुनै छैन भेद अब

आकुल-व्याकुल लतारिन्छन् सक्षम
गरेर चाकरी, मोज गर्ने असक्षम
लुटिन्छन् वा डढाइन्छन् घर असलका
अथवा, कब्जा जमाई बस्छन् कमसल

योग्य र गुणवान्, लगाइन्छन् घोक्रेठ्याक
किनकि, खाली पार्नुछ पद र चढाउनुछ कुर्सीमा
गुणहीन आफन्त, चाकर जोकर

त्यसैले त, समताका नाममा
कुम हल्लाइ-हल्लाई
नाच्दैछ कलह

कुनै छैन भेद अब
राम्रो-नराम्रो
असल-कमसल

Saturday 17 April 2010

प्रचण्ड किल्ला हावाको

हुंदैछ कहालीलाग्दो घोषणा
असत्यको उदयको
अत्याचारको विजय र
फैलंदो साम्राज्यको

जमाएर पूर्ण अधिकार
नयां बनाउन तम्सेको
बालुवाको मैदानमा
प्रचण्ड किल्ला हावाको

सुन्दर कमलसरि

घमण्डले मत्त स्वार्थी कुमान्छेको सम्पत्ति
हुन्न शोभित रत्तिपनि, ओइलिएको फूलसरि
तर सधैं सुमान्छेको दानवीरको सम्पत्ति
बास्ना छर्ने मौरी डाक्ने, हुन्छ सुन्दर कमलसरि

पुल्पुल्याएर पालेको

प्यारो खूब-प्यारो,
सयथोक गरी पुल्पुल्याएर पालेको

खुरमुरिंदा पनि टांसेर छातीमा
भीर-पहरामा जोगाएको

तर फसेर कुलतमा
यसको छ बानी साह्रै बिग्रेको

के हुन्थ्यो इमानदार!
अनि विश्वासिलो कसको!

भयो फणा उठाएर डस्ने
काखमा सुतेको गोमन सांप!