Sunday, 31 January 2010

संसारको रीत

म सम्झिन्छु संसारको रीत
भनभनाउंदो भंवरो देख्दा
चुसिएका फूल छोड्दै
रसिलामा यसले नङ्ग्रा गाड्दा

सोझो भनी बुझ्दा, गोरु हो कि घोडा
छाम्दा नरम भेटिएमा
खुंद्छन् बनाई माटाका डल्ला
चोखो र अपतित, ऊ त भयो नीच
यस्तै छ संसारभर
आजको नयां रीत

Saturday, 30 January 2010

भांच्चिएका छन् पखेटा

सत्यका भक्त, अहिंसाका पुजारी
सक्दैनन् हिंड्न, हिंसाको पथ भारी

तर हिंड्छ भीड, त्यही कुबाटो
फहराएर झण्डा, अराजकताको

त्यसैले त, भांच्चिएका छन् पखेटा
स्वतन्त्र उड्ने, सज्जन-चराका

Thursday, 28 January 2010

अंठ्याइएको छ तनमन

लागेको छैन अझै टुंगो, दुर्जन-प्रकृति-रोगको
थपिएको छ दुख्ने घाउ, माथि जबर्दस्तीको

बढेको छ हत्या हिंसा, अपहरण र लूटपाट
हरबस्तीमा हरेक दिन, विद्रूप नयां संकट

मानौं अंठ्याइएको छ तनमन मान्छेको
ऊ परेको छ वशमा ग्रह-भूत-पिशाचको

Wednesday, 27 January 2010

पचाइसके लाज

असल समाचार बानी व्यवहार
भए पुराना अतीतका किस्सा
हल्ला-कल्पना हावी हुंदा
सत्य त भाग्यो धेरै टाढा
दुनियांमा उज्यालो कतै छैन
पचाइसके लाऽऽज, सबै कुजात

फल्दोफुल्दो रौद्रता
ओइलिंदो छ भद्रता
खूब मस्किदैंछे विकृति
रुंदैछे आज बिचरी संस्कृति

Tuesday, 26 January 2010

यी धारिला कांढाले

घरगृहस्थीका हजार टण्टाले, वाक्कदिक्क भएकाको
हुनेगर्थ्यो शरण, शान्त वन मन्दिर, शान्ति खोज्ने बबुराको
त्यै तपोवन ढाके आज, विषालु र डरलाग्दाले
शिक्षाको विचलनबाट उम्रेका, यी धारिला कांढाले

Monday, 25 January 2010

भत्काउंदैछु मनैभित्र

अन्याय र अत्याचारका खुकुरी
कति वर्षेका छपाछप
जो पार्छ चोक्टाचोक्टा र तोड्छ
मानवीय न्याय र सम्भावनाका पुल
उही वहाउंछ गोहीका आंसु
छिः बनाउंछ शहीद, ओढाएर झण्डा
गरीबका सन्तान गरीबकै नाममा

'भत्काउ सब, पार भद्रगोल, गर गुण्डागर्दी'
सुन्दैछु यो अविनयी घोषणा,
अनि देखेर हिंसाको प्रतियोगिता
भत्काउंदैछु मनैभित्र
शान्ति नियम र सुशासनका सबै सपना

Sunday, 24 January 2010

आंसु पिएर हांस्दै

दीन-सुजन सम्पत्ति लुटिएका
स्वजन-बन्धु मारिएका
कांपेका छन् चूरैसम्म
अत्याचार-अपमानमा परेका

तरपनि उभिन्छन् तिरस्कृत
बाध्यताले गर्न स्वागत
कोलाहलपूर्ण त्रासद, कलहयुगको आगमनको

गहिरो चोटको दुखाई खप्दै
आंसु पिएर हांस्दै

धमिलिएर शब्द, फटाइंदा अर्थ

भयो लोप सभ्यताको, नीति र व्यवहारको
गरे सबैले आत्मसात्, ठगी असत्य काटमार
"जित्ने बाटो" भन्दै, अंगालियो डरधम्की
तीर्थ गएजस्तो भयो, चाकरी र चापलूसी

धमिलिएर शब्द, फाट्दा-फटाइंदा तिनका अर्थ
आज भए काव्य प्रदूषित, साहित्यका हरेक फांट
कसरी हुने स्वच्छ अनि, प्राज्ञजनको क्रियाकलाप
प्रायजसो यो छ मलिन, छल-कपट-धोकादार

विकृतिको विश्वरूप

आजको संसार गर्दैछ योगदान
चढाएर क्लेशको आवेश
खडा गर्न विकृतिको विश्वरूप ।

बोकेको छ यसले, डस्ने क्षमता गोमनको
लुट्न अरुको धन, बोकेर धूर्त्यांइ डांकाको
अहंकारमा ठडिएको, नांप्दै इन्द्रजात्राको लिङ्गो

यो हो मद चढेको हात्ती
हेर्दैछ जसलाई
पीडित जनसमूहको
व्याकुल दृष्टि

मान्छेको मन

कुबाटोमा उम्रेको, कुकर्मको क्यारीमा हुर्केको
गलत मनसायको कमजोर जरामा उभिएर
कुविचारको वर्षाले सिंचिएको
यो मान्छेको मन
आज भएको छ रूख
दोष विकार अवगुणको मल पाएर
फलेफुलेको छ खूब