Monday, 22 February 2010

गुज्रियो बित्यो

गुज्रियो बित्यो त्यो समय सौभाग्यशाली
आमोद प्रमोद भर्ने सुचरित-कर्तव्यकारी
रौंभन्दा झिनो भयो स्वच्छ सद्गुणको किरण
टु्ट्यो-बिलायो, अब बोल्दैनन् विद्वद्गण

हो, आनन्दशून्य भइसक्यो संसार
मानौं मेला सिद्धिएर सुनसान, चउर एकलास

हाम्री प्रगति

गलत मान्छेका बीचमा धुजाधुजामा बांडिएकी
अवगाल, कालुष्य, र मदमत्त घमण्डले नाशिएकी
हाम्री प्रगति, सक्ली सास धान्न, मात्र तिनका बीचमा
जसले राखेका छन् बांकी, लाज र विनय केही मनमा

Friday, 19 February 2010

सुधार्छौ ? कल्लाई !

सुधार्छौ ? क-कल्लाई!
दर्शनढुङ्गा नरम पार्छौ ?
पार्नसक्छौ लशुन सुगन्धित?

स्वभावैले जो छ दूषित
मनमस्तिष्कमा भरिएर मयल
तिनलाई सुधार्ने तिम्रो सोच
हे मूर्ख! जान त्यस्तै हो वाहियात

मान्छे बन्छ त्यसको दास

मान्छे बन्छ त्यसको दास
जसबाट हुन्छ उसलाई त्रास

बन्धुले झैं गर्छ माया
जब गर्छ ऊ पैसाको आश

तर भक्तले झैं गर्छ सेवा
जब पर्छ शक्तिको दरकार

पायोभने सोखको भनक
देखाउँछ उसले प्रेमीको व्यवहार

Tuesday, 16 February 2010

सहनुपर्छ सबै

हृदय! सहनुपर्छ सबै, अथवा हुनुपर्छ कठोर
कि त भाग्नुपर्छ छोडी, यो विरसिलो संसार

किन कि,
भिरेर हजार हतियार, लगाएर विकृतिले सांध
यी त तम्सेका छन् गिंड्न, गुण र गुणीको संसार

Sunday, 14 February 2010

डटेको छ शानले शिखरमा

स्वर्गिम आनन्दको, उडान भर्दैछन् दुर्जन
फाटेर मनमा धांजा, भास्सिंदैछन् सज्जन

हिंसा र द्रोहको कुनीतिले गर्दा
भीरबाट खसालिए, योग्यता र गुण

तर, डटेको छ शानले शिखरमा
रगत कटकटिएको फोहोरी अवगुण

कति उम्लिएको नीचपन

विरक्तिए झैं छ सौहार्द
विपत्तिमा परेजस्तो छ सम्मान
नाशियो क्यारे सत्संगति
चिरनिद्रामा छ मिलाप र सम्मति

भास्सिएर आफ्नो धरातल
पराजित झैं छ साधुपन
मेरो भयो जित भन्दै
कति उम्लिएको नीचपन

Monday, 8 February 2010

हिंसाको भीर

भत्काइएका छन् सारा, बाटाघाटा पुलपुलेसा
घोषित भएको छ हिंसाको भीर, राजमार्ग चौडा

तर आत्मसम्मान भएको यौटा मान्छे
किन छोडोस् हिंड्न सन्मार्गमा, र भागोस्
फगत ज्यान जोगाउन, आत्मप्रेममा
कांसको फूलको भुवासरि
उड्दै गन्तव्यहीन, शरद्ऋतुको आकाशमा

फैलाउंदै घृणा मनमा

घुसेका छन् आततायी, जनताका हूलमा
वनजंगलको डंढेलोसरि, फैलाउंदै घृणा मनमा

चोरीडकैती भयो आज, मोजमस्तीको बाटो
सजिलो र छिटो-छरितो, रोजगारी सयौंको

व्यभिचारको हिलोमा, लतपतिन्छन् युवती
त्यसैको छ आज प्रशंसा, क्या मोजको रति!

कुबाटोमा जोतिएका, यी मान्छेका शरीर
त्यसैले छन् चुहिएका, धांजैधांजा प्वालैप्वाल

Friday, 5 February 2010

बोल्नै नपाई एकै शब्द

गुणी भए पराईलाई पनि
म सक्छु गर्न अङ्कमाल
छांद हाल्छु गुणलाई
आफन्त होइन मेरो आधार

तर, बोल्नै नपाई एकै शब्द
गुणको प्रशंसामा
वज्रेको छ मुखमै मेरो
आह! तीखो बाण, आरपार

बिहानीको दियोजस्तै

बिहानीको दियोजस्तै
कान्तिहीन उपयोगहीन
सक्दैनन् छर्न उज्यालो
भलामानुष यी पदच्युत

तर यी आततायी
दनदनाएर बल्दैछन्
डढाउँदैछन्
आफ्नै संसार
सिङ्गै संसार

Thursday, 4 February 2010

कपट मायाजाल कति फैलेको

कपट मायाजाल कति फैलेको
बनेको छ यो मान्छेको सहज स्वभाव
बदल्नै गाह्रो

भएको छ गाढा ठगी मक्कारी
बिख फलाउने चारकोसे झाडी

चढेको छ मद संवेदनाको चूरोसम्म
हरेक मान्छे मातेको हात्ती

फैलेकोफैल्यै छ पापी प्रमाद
युग सिध्याउने आगो
पोल्यो डढायो यसले
हाम्रो घरबार सम्पत्ति संसार