Saturday, 8 May 2010

धूर्तताको संसारको

सेलाउन सक्दैनन् गुणवान्, स्वाभाविक आफ्ना गुण

न ती सक्छन् गुण बोकी बस्न, गुणवैरिका साथ

न छ त्यस्तो ठाउं सुलभ, जहां छैनन् गुणद्रोही

गुणी-विद्वान् टिक्ने अब, जगत्मा छैन कुनै गति

 
तरपनि गुमाई प्रियतम प्रकृति, स्वभाव

गर्नुपर्ने सज्जनले फोहोरी जगत्को उपकार

चल्छ यात्रा त्यसले हरदिन, यो धूर्तताको संसारको

निरन्तरको व्यायामले, धोक्रो भर्दै पापको

Friday, 7 May 2010

धेरै छैन पर

दबाइंदा आज सज्जन मूढेबलका भरमा
सुचरिता! सुकुमारी! शालीनता! अस्मिता!
म देख्दैछु तिम्रो अन्त, धेरै छैन पर ।
अनि,
अंगेनाको भुङ्ग्रोछेउको कोमलफूलको माला
बनेका छन् शोक-लायक तिम्रा हरेक आशा ।

किन होला

"गरेथें कुनैबेला उपकार!"
"त्यो त जाबो त्यसको के औकात!"
"म त छु चोखो, छैन भ्रष्ट!"
"यसो भन्दैमा पाउलास् सुख!"

ज-जसले गर्छ राम्रो व्यवहार,
ठान्ने उसैलाई दुश्मनको औतार।
किन होला बुद्धिमा यिनको
भरिएको यसरी मक्कारी, धिक्कार !

Wednesday, 5 May 2010

यसले मलाई पोल्छ

रोजगारीको डरले होला, बुद्धिजीवी कांपेका
ज्ञानले बुद्धि चम्काए 'नि, धक्कामुक्की गरेका
दुर्जनहरुले ढाकिएको यै बाटोमा लम्केका
यस्तो देख्दा लाग्छ दु:ख, यसले मलाई पोल्छ

Tuesday, 4 May 2010

दबाऊ निजी स्वभाव !

भनिन्छ, "दबाऊ निजी स्वभाव"
अनि पारिन्छ बाध्य मानिसलाई
बन्न मूर्खको पिछलग्गु

तर देऊ जवाफ,
जब दब्छ उसको निजी स्वभाव
कसरी उब्जिन्छ सफा विचार?

निरर्थक हुन्छ सज्जनको सेवा
सयौं यन्त्रणा सही गरेको
जब ठड्याउँछ मूर्खले पहरा
खटाउँछ हतियारबन्द जासूस
तर्दै कर्के आँखा,
निगरानी राख्न उसमाथि

Saturday, 1 May 2010

त्रिगुण

रजोगुण र तमोगुणको बगैंचामा

फूल झकिझकाउ, फल लटरम्म

सत्त्वगुणको एक्लो बोटमा

वज्रिएको देख्दैछु चट्याङ चट्याङ्ग

Wednesday, 28 April 2010

कसरी ब्यूंझून्

कसरी ब्यूंझून् यी सम्मोहित-शिक्षित,
बाँचेका छन् जो
स्वप्नलोकमा, अतिवादमा ।

कर्तव्यमा रमेका-डटेका त,
बचेखुचेका छन् अब शिष्ट
सपनामा नभुल्ने सांच्चै शिक्षित ।

जो हो वास्तवमा अधम-राज
सबैको छ त्यसैमा अनुराग ।
यो अड्बा‍‌ङ्गो सपनी-नशामा
सुतेका छन् थलिएर थाङ्नामा ।

Saturday, 24 April 2010

कुनै छैन भेद अब

आकुल-व्याकुल लतारिन्छन् सक्षम
गरेर चाकरी, मोज गर्ने असक्षम
लुटिन्छन् वा डढाइन्छन् घर असलका
अथवा, कब्जा जमाई बस्छन् कमसल

योग्य र गुणवान्, लगाइन्छन् घोक्रेठ्याक
किनकि, खाली पार्नुछ पद र चढाउनुछ कुर्सीमा
गुणहीन आफन्त, चाकर जोकर

त्यसैले त, समताका नाममा
कुम हल्लाइ-हल्लाई
नाच्दैछ कलह

कुनै छैन भेद अब
राम्रो-नराम्रो
असल-कमसल

Saturday, 17 April 2010

प्रचण्ड किल्ला हावाको

हुंदैछ कहालीलाग्दो घोषणा
असत्यको उदयको
अत्याचारको विजय र
फैलंदो साम्राज्यको

जमाएर पूर्ण अधिकार
नयां बनाउन तम्सेको
बालुवाको मैदानमा
प्रचण्ड किल्ला हावाको

सुन्दर कमलसरि

घमण्डले मत्त स्वार्थी कुमान्छेको सम्पत्ति
हुन्न शोभित रत्तिपनि, ओइलिएको फूलसरि
तर सधैं सुमान्छेको दानवीरको सम्पत्ति
बास्ना छर्ने मौरी डाक्ने, हुन्छ सुन्दर कमलसरि

पुल्पुल्याएर पालेको

प्यारो खूब-प्यारो,
सयथोक गरी पुल्पुल्याएर पालेको

खुरमुरिंदा पनि टांसेर छातीमा
भीर-पहरामा जोगाएको

तर फसेर कुलतमा
यसको छ बानी साह्रै बिग्रेको

के हुन्थ्यो इमानदार!
अनि विश्वासिलो कसको!

भयो फणा उठाएर डस्ने
काखमा सुतेको गोमन सांप!

Wednesday, 31 March 2010

यौटा सानो फूलको बोट

कसरी हुन्छ गुणीको उपयोग
घेरामा हुलिदिएर
हजार असक्षमको

कसरी रम्नसक्छ
एक्लो राजहांस
भीडमा पर्दा कौवाको

झनै जब हुन्छ ऊ आक्रान्त,
दुर्जनबाट तिरस्कृत
कसले बुझ्ने उसको हाल

तर सहन्छ ऊ चूपचाप, मानौं ऊ त हो
घनघोर झरीमा असिनाले चुटिएको
अध्यांरो कुनामा निरीह ठडिएको

कोमल अझैपनि सुन्दर
यौटा सानो फूलको बोट

Friday, 19 March 2010

उसैले हो समाज हांक्ने

गाउने प्रशस्ति, मीठो बोल्ने
यै हो आजको नयाँ कवि

जुलूस उठाउने, अरुको नसुन्ने
यै हो आजको सही विजयी

लुटेरा-गुण्डा हेर्दै घिनलाग्ने
यो हो तेजस्वी, संसार ढाक्ने

जो हुनसक्छ क्रूर र दयाहीन
उसैले हो समाज हांक्ने

सत्य बोल्दा मर्नुपर्छ

कति बाझ्नु यीसंग, जो सहन्नन् फरक विचार
यही सोची कतिले त, मौन बस्ने गरे विचार

किनकि,
सत्य बोल्दा मर्नुपर्छ, शिकार बन्नुपर्छ
यस्तालाई माया गर्दा' नि नानी, ज्यान जोगाउनुपर्छ

पुग्यो नखोक!

"मिल्छ र यसरी भाग्न,
भएर स्वार्थी, सोच्दै आफ्नैमात्रै हित?"

"पुग्यो नखोक! नसिकाउ जनहितको पाखण्ड!
भरिएको छ यो संसार,
हिंस्रक पाखण्डीले खांदीखांदी,
जो जनहितको ढोल पिट्दै,
भर्छन् आफ्नै स्वार्थ-भकारी"

Saturday, 6 March 2010

विजयघोषणा! कसको?

फहराइन्छन् झण्डा, बजाएर नगरा
पिटिन्छ अनि ढोल विजयघोषणाको ।
"कसको?"
"धोखेबाजीमा पोख्त धूर्त्याइंका पण्डितको"

हांसजस्तो स्वच्छ-सफेद, सुन जडेको चमरपंख
चढाइएको छ पामरलाई मानपदवी कम्मरबन्द
तिनको शिरमा फेटा-पगडी, सजिएको टोपी
जो छन् साह्रै दक्ष-प्रवीण, कलहकलामा पारंगत

रहेन औकात सोच्नेबुझ्ने, आफ्नै बूताले केही गर्ने
शठका ढाडमा नाक रगड्दै, उसकै पछि कुद्नाले
खुंदेका छन् सिंहको शय्या, मक्कारीमा टिकिजित्नेले

मान्छे भएछन् परजीवी पराश्रित, अर्काकै भरमा हिंड्नाले

डरत्रास, स्वाद, रतिराग

डरत्रास, स्वाद, रतिराग र मानव संवेदन
हुन्छन् घरेलु र वनेलु पशुपन्छीकै समान
शालीनता हो यौटै गहना, सभ्यताको पहिचान
त्यसैलाई पारे प्रदूषित,
के बच्छ ?
जसले मान्छेलाई पशुभन्दा भिन्दै पार्छ

Monday, 22 February 2010

गुज्रियो बित्यो

गुज्रियो बित्यो त्यो समय सौभाग्यशाली
आमोद प्रमोद भर्ने सुचरित-कर्तव्यकारी
रौंभन्दा झिनो भयो स्वच्छ सद्गुणको किरण
टु्ट्यो-बिलायो, अब बोल्दैनन् विद्वद्गण

हो, आनन्दशून्य भइसक्यो संसार
मानौं मेला सिद्धिएर सुनसान, चउर एकलास

हाम्री प्रगति

गलत मान्छेका बीचमा धुजाधुजामा बांडिएकी
अवगाल, कालुष्य, र मदमत्त घमण्डले नाशिएकी
हाम्री प्रगति, सक्ली सास धान्न, मात्र तिनका बीचमा
जसले राखेका छन् बांकी, लाज र विनय केही मनमा

Friday, 19 February 2010

सुधार्छौ ? कल्लाई !

सुधार्छौ ? क-कल्लाई!
दर्शनढुङ्गा नरम पार्छौ ?
पार्नसक्छौ लशुन सुगन्धित?

स्वभावैले जो छ दूषित
मनमस्तिष्कमा भरिएर मयल
तिनलाई सुधार्ने तिम्रो सोच
हे मूर्ख! जान त्यस्तै हो वाहियात

मान्छे बन्छ त्यसको दास

मान्छे बन्छ त्यसको दास
जसबाट हुन्छ उसलाई त्रास

बन्धुले झैं गर्छ माया
जब गर्छ ऊ पैसाको आश

तर भक्तले झैं गर्छ सेवा
जब पर्छ शक्तिको दरकार

पायोभने सोखको भनक
देखाउँछ उसले प्रेमीको व्यवहार

Tuesday, 16 February 2010

सहनुपर्छ सबै

हृदय! सहनुपर्छ सबै, अथवा हुनुपर्छ कठोर
कि त भाग्नुपर्छ छोडी, यो विरसिलो संसार

किन कि,
भिरेर हजार हतियार, लगाएर विकृतिले सांध
यी त तम्सेका छन् गिंड्न, गुण र गुणीको संसार

Sunday, 14 February 2010

डटेको छ शानले शिखरमा

स्वर्गिम आनन्दको, उडान भर्दैछन् दुर्जन
फाटेर मनमा धांजा, भास्सिंदैछन् सज्जन

हिंसा र द्रोहको कुनीतिले गर्दा
भीरबाट खसालिए, योग्यता र गुण

तर, डटेको छ शानले शिखरमा
रगत कटकटिएको फोहोरी अवगुण

कति उम्लिएको नीचपन

विरक्तिए झैं छ सौहार्द
विपत्तिमा परेजस्तो छ सम्मान
नाशियो क्यारे सत्संगति
चिरनिद्रामा छ मिलाप र सम्मति

भास्सिएर आफ्नो धरातल
पराजित झैं छ साधुपन
मेरो भयो जित भन्दै
कति उम्लिएको नीचपन

Monday, 8 February 2010

हिंसाको भीर

भत्काइएका छन् सारा, बाटाघाटा पुलपुलेसा
घोषित भएको छ हिंसाको भीर, राजमार्ग चौडा

तर आत्मसम्मान भएको यौटा मान्छे
किन छोडोस् हिंड्न सन्मार्गमा, र भागोस्
फगत ज्यान जोगाउन, आत्मप्रेममा
कांसको फूलको भुवासरि
उड्दै गन्तव्यहीन, शरद्ऋतुको आकाशमा

फैलाउंदै घृणा मनमा

घुसेका छन् आततायी, जनताका हूलमा
वनजंगलको डंढेलोसरि, फैलाउंदै घृणा मनमा

चोरीडकैती भयो आज, मोजमस्तीको बाटो
सजिलो र छिटो-छरितो, रोजगारी सयौंको

व्यभिचारको हिलोमा, लतपतिन्छन् युवती
त्यसैको छ आज प्रशंसा, क्या मोजको रति!

कुबाटोमा जोतिएका, यी मान्छेका शरीर
त्यसैले छन् चुहिएका, धांजैधांजा प्वालैप्वाल

Friday, 5 February 2010

बोल्नै नपाई एकै शब्द

गुणी भए पराईलाई पनि
म सक्छु गर्न अङ्कमाल
छांद हाल्छु गुणलाई
आफन्त होइन मेरो आधार

तर, बोल्नै नपाई एकै शब्द
गुणको प्रशंसामा
वज्रेको छ मुखमै मेरो
आह! तीखो बाण, आरपार

बिहानीको दियोजस्तै

बिहानीको दियोजस्तै
कान्तिहीन उपयोगहीन
सक्दैनन् छर्न उज्यालो
भलामानुष यी पदच्युत

तर यी आततायी
दनदनाएर बल्दैछन्
डढाउँदैछन्
आफ्नै संसार
सिङ्गै संसार

Thursday, 4 February 2010

कपट मायाजाल कति फैलेको

कपट मायाजाल कति फैलेको
बनेको छ यो मान्छेको सहज स्वभाव
बदल्नै गाह्रो

भएको छ गाढा ठगी मक्कारी
बिख फलाउने चारकोसे झाडी

चढेको छ मद संवेदनाको चूरोसम्म
हरेक मान्छे मातेको हात्ती

फैलेकोफैल्यै छ पापी प्रमाद
युग सिध्याउने आगो
पोल्यो डढायो यसले
हाम्रो घरबार सम्पत्ति संसार

Sunday, 31 January 2010

संसारको रीत

म सम्झिन्छु संसारको रीत
भनभनाउंदो भंवरो देख्दा
चुसिएका फूल छोड्दै
रसिलामा यसले नङ्ग्रा गाड्दा

सोझो भनी बुझ्दा, गोरु हो कि घोडा
छाम्दा नरम भेटिएमा
खुंद्छन् बनाई माटाका डल्ला
चोखो र अपतित, ऊ त भयो नीच
यस्तै छ संसारभर
आजको नयां रीत

Saturday, 30 January 2010

भांच्चिएका छन् पखेटा

सत्यका भक्त, अहिंसाका पुजारी
सक्दैनन् हिंड्न, हिंसाको पथ भारी

तर हिंड्छ भीड, त्यही कुबाटो
फहराएर झण्डा, अराजकताको

त्यसैले त, भांच्चिएका छन् पखेटा
स्वतन्त्र उड्ने, सज्जन-चराका

Thursday, 28 January 2010

अंठ्याइएको छ तनमन

लागेको छैन अझै टुंगो, दुर्जन-प्रकृति-रोगको
थपिएको छ दुख्ने घाउ, माथि जबर्दस्तीको

बढेको छ हत्या हिंसा, अपहरण र लूटपाट
हरबस्तीमा हरेक दिन, विद्रूप नयां संकट

मानौं अंठ्याइएको छ तनमन मान्छेको
ऊ परेको छ वशमा ग्रह-भूत-पिशाचको

Wednesday, 27 January 2010

पचाइसके लाज

असल समाचार बानी व्यवहार
भए पुराना अतीतका किस्सा
हल्ला-कल्पना हावी हुंदा
सत्य त भाग्यो धेरै टाढा
दुनियांमा उज्यालो कतै छैन
पचाइसके लाऽऽज, सबै कुजात

फल्दोफुल्दो रौद्रता
ओइलिंदो छ भद्रता
खूब मस्किदैंछे विकृति
रुंदैछे आज बिचरी संस्कृति

Tuesday, 26 January 2010

यी धारिला कांढाले

घरगृहस्थीका हजार टण्टाले, वाक्कदिक्क भएकाको
हुनेगर्थ्यो शरण, शान्त वन मन्दिर, शान्ति खोज्ने बबुराको
त्यै तपोवन ढाके आज, विषालु र डरलाग्दाले
शिक्षाको विचलनबाट उम्रेका, यी धारिला कांढाले

Monday, 25 January 2010

भत्काउंदैछु मनैभित्र

अन्याय र अत्याचारका खुकुरी
कति वर्षेका छपाछप
जो पार्छ चोक्टाचोक्टा र तोड्छ
मानवीय न्याय र सम्भावनाका पुल
उही वहाउंछ गोहीका आंसु
छिः बनाउंछ शहीद, ओढाएर झण्डा
गरीबका सन्तान गरीबकै नाममा

'भत्काउ सब, पार भद्रगोल, गर गुण्डागर्दी'
सुन्दैछु यो अविनयी घोषणा,
अनि देखेर हिंसाको प्रतियोगिता
भत्काउंदैछु मनैभित्र
शान्ति नियम र सुशासनका सबै सपना

Sunday, 24 January 2010

आंसु पिएर हांस्दै

दीन-सुजन सम्पत्ति लुटिएका
स्वजन-बन्धु मारिएका
कांपेका छन् चूरैसम्म
अत्याचार-अपमानमा परेका

तरपनि उभिन्छन् तिरस्कृत
बाध्यताले गर्न स्वागत
कोलाहलपूर्ण त्रासद, कलहयुगको आगमनको

गहिरो चोटको दुखाई खप्दै
आंसु पिएर हांस्दै

धमिलिएर शब्द, फटाइंदा अर्थ

भयो लोप सभ्यताको, नीति र व्यवहारको
गरे सबैले आत्मसात्, ठगी असत्य काटमार
"जित्ने बाटो" भन्दै, अंगालियो डरधम्की
तीर्थ गएजस्तो भयो, चाकरी र चापलूसी

धमिलिएर शब्द, फाट्दा-फटाइंदा तिनका अर्थ
आज भए काव्य प्रदूषित, साहित्यका हरेक फांट
कसरी हुने स्वच्छ अनि, प्राज्ञजनको क्रियाकलाप
प्रायजसो यो छ मलिन, छल-कपट-धोकादार

विकृतिको विश्वरूप

आजको संसार गर्दैछ योगदान
चढाएर क्लेशको आवेश
खडा गर्न विकृतिको विश्वरूप ।

बोकेको छ यसले, डस्ने क्षमता गोमनको
लुट्न अरुको धन, बोकेर धूर्त्यांइ डांकाको
अहंकारमा ठडिएको, नांप्दै इन्द्रजात्राको लिङ्गो

यो हो मद चढेको हात्ती
हेर्दैछ जसलाई
पीडित जनसमूहको
व्याकुल दृष्टि

मान्छेको मन

कुबाटोमा उम्रेको, कुकर्मको क्यारीमा हुर्केको
गलत मनसायको कमजोर जरामा उभिएर
कुविचारको वर्षाले सिंचिएको
यो मान्छेको मन
आज भएको छ रूख
दोष विकार अवगुणको मल पाएर
फलेफुलेको छ खूब